ScreenFlicks Nepal
Skip to Content

पीपलमुनि जन्मेको मित्रता

काठमाडौंको बिहानैको चिसो हावा ग्रामिण आदर्श बहुमुखी क्याम्पसको गेटअगाडि पीपलको पात हल्लाउँदै थियो।✍🏼 हेमन्त नाथ
August 19, 2025 by
Hemant Nath
बिहानको सूर्य अझै कोमल थियो, र सडकमा देखिने धुलो, भीड र गाडीको आवाजबीच पनि त्यो पीपलको बोट शान्त र स्थिर उभिएको थियो मानौँ यो बोटले धेरै वर्षदेखि नयाँ नयाँ विद्यार्थीहरूको आगमन र बिदाइ नियालिरहेको होस्।

विद्यालय जीवनमै काठमाडौंको गल्ली–गल्ली चिनेको भए पनि, कलेज जीवनको पहिलो दिन भने मेरो लागि नयाँ र उत्साहित क्षण थियो। क्याम्पसको गेटबाट भित्र पस्दा, कोही नोट पल्टाइरहेका थिए, कोही गफ गर्दै हाँसिरहेका थिए, कोही भने टाउको झुकाएर मोबाइलमा व्यस्त , म भने शान्त भएर वरिपरि नियालिरहेको थिएँ यिनै मध्ये कोही मेरो भविष्यका साथी बन्नेछन् भन्ने सोच्दै थिए ।

कक्षा सुरु भयो , सुरु–सुरुमा त बस्ने ठाउँ, किताब, मा ध्यान गयो। तर बिस्तारै, मित्रताको बीउ उम्रिन थाल्यो। खासगरी ब्रेक टाइम मा धेरै साथी सँग चिनजान भयो । चिया पसलमा सँगै जाने, एक कप चिया र केही गफमा आधा घण्टा बित्ने, कहिलेकाहीँ चिया भन्दा पनि गफ नै लामो हुने, यही क्रममा धेरै साथी बने, हाँसो–ठट्टा, र पढाइ, यिनै कुरा मा समय बित्दै जान्थ्यो ।

> "साँचो मित्रता कलेजको चिया पसलमा जन्मिन्छ, र जीवनभर मनमा बस्छ।"
एक वर्ष त्यस्तै रमाइलो गर्दै बित्यो। कहिलेकाहीँ त लाग्थ्यो, यो दिन कहिल्यै सकिँदैन। तर समय भने आफ्नो गतिमा अगाडि बढिरह्यो।

दोस्रो वर्ष सुरु हुँदा मेरो जीवनमा तीन विशेष पात्र जोडिए , मनिष, सुमित र प्रेम सुरुमा त उनीहरूसँगको मित्रता सामान्य थियो। दुई चार दिनमै “नमस्ते”, “खाना खाइस?”, “आज क्लास रमाइलो भयो है” जस्ता हल्का कुरा हुँदै गयो। तर थोरै समयमै त्यो सामान्य परिचय असाधारण सम्बन्धमा बदलियो।

हामी चार जनाको टोली मानौँ एकअर्काको वरिपरि घुम्ने ग्रहजस्तो जति सँगै हुँदा पनि नअर्काएर बस्न नसक्ने क्लासमा सँगै बस्ने, ब्रेकमा सँगै निस्कने, असाइनमेन्ट गर्दा सल्लाह दिने, अनि कहिलेकाहीँ त सानो गल्तीका लागि एकअर्कालाई जिस्काउने।

प्रेम हाम्रो टोलीको ‘कमेडी किंग’ थियो। उसको बोल्ने शैली, मजाक गर्ने तरिका, र सानो कुरा पनि रमाइलोमा बदल्ने क्षमता थियो, त्यसैले हामी धेरै तनाव भएको बेला पनि हाँस्ने मौका पाउँथ्यौं।


सुमित अलिकति सोझो स्वभावको थियो, तर स्टाइल गर्ने चाह भने उसको छुट्टै स्तरको थियो, उसको हिँड्ने ढंग, कपालको स्टाइल, र फोटो खिचाउने पोज मानौँ कुनै म्युजिक भिडियोको हिरो हो ।

मनिष भने हामीमध्ये सबैभन्दा अग्लो, गम्भीर तर नजिकिँदा निकै आत्मीय स्वभावको थियो । उ सँग म अलि बढी कुरा शेयर गर्थें पढाइ मात्र होइन, व्यक्तिगत कुरा, मनका कुरा, कहिलेकाहीँ त पीडासम्म पनि साटा साट हुन्थ्यो ।

> "कसैसँगको मित्रता यति गहिरो हुन्छ कि, जीवनका सबै ऋतुहरू उनीहरूकै संगतमा सुन्दर देखिन्छन्।"
हामी चार जनाले कलेज जीवनको हरेक क्षणलाई विशेष बनायौं। कहिले कक्षा सकेर बाइधारातिर घुम्न निस्कन्थ्यौं, कहिले चिया पसलमा बसेर भविष्यका सपनाबारे कुरा गर्थ्यौं, हाम्रो कलेज नजिकै सिनेमा हल थियो कहिले कहीं चलचित्र हेर्नको लागि हल सम्म पुग्ने गर्थ्यौं अनि कहिलेकाहीँ त कलेजको आँगनमै बसेर घाम ताप्दै रमाइलो गर्थ्यौं।
हामी चार जना केवल साथी मात्र होइन, कलेज जीवनका सहयात्री थियौं। एक अर्काको हाँसो, रहस्य, र साना–ठूला सपना हामीले साझा गरेका थियौं। कलेजको क्यान्टिनमा सानो टेबल हाम्रो “आधिकारिक बैठक कोठा” जस्तै थियो। त्यहीँ बसेर हामी कहिले चिया, कहिले समोसा, कहिले त केवल पानीमै संसारका सबै समस्याको समाधान खोज्थ्यौं।


परीक्षा नजिकिँदा पनि हाम्रो रुटिन खासै बदलिँदैनथ्यो । कहिले एकअर्कालाई पढाइको बहानामा भेटेर अन्त्यमा चियापसलमा पुर्‍याइदिने बानी हामीमा पक्कै सुधारिएको थिएन।

एकपटक कलेजको सांस्कृतिक कार्यक्रममा हामी चारै जना सहभागी भयौं—कसैले गीत गायो, कसैले कविता सुनायो, कसैले नाच्यो, र कसैले सबैको भिडिओ खिच्यो। त्यो दिनको रमाइलो अझै पनि हाँसोले याद आउँछ।

हामीलाई थाहा थियो, यो समय फेरि फर्किँदैन। त्यसैले हामी हरेक क्षणलाई चित्रजस्तो मनमा कोर्दै गयौं।
कलेज सकिएको धेरै वर्ष भइसक्यो, तर हाम्रो मित्रताको डोर अझै पनि अटुट छ। अब हामी नेपालमा सँगै भेटिने मौका कम भए पनि, मोबाइलको सानो पर्दाले हामीलाई टाढा हुन दिँदैन। साथीहरू अध्ययन र घरायसी समस्या भएकाले देश बाहिर रहेका छन्, तर त्यो दूरीले हाम्रो मनलाई कहिल्यै टाढा बनाउन सकेको छैन।

संसारका फरक–फरक ठाउँमा भए पनि, हामी एक अर्कासँग सम्पर्कमा रहन्छौं, फोन र भिडियो कलबाट हाँसो, खुसी, र कहिलेकाहीँ जीवनका चुनौतीहरू साझा गर्छौं। त्यसैले जीवनका व्यस्तताले पनि हाम्रो मित्रताको मिठास घट्न सक्दैन।
अब हामी नेपालमा सँगै भेटिने अवसर कम भए पनि, मोबाइलको सानो पर्दाले हामीलाई टाढा हुन दिँदैन। कहिले भिडियो कलमा सबैको हाँसो गुन्जिन्छ, कहिले केवल आवाजमै एकअर्काको मन बुझिन्छ।

जीवनको चाप, कामको व्यस्तता, र परिवारका जिम्मेवारीबीच पनि हामी समय निकालेर दुःख–सुख साटासाट गर्छौं। कसैलाई समस्या पर्दा अर्कोले आडस दिन्छ, कसैको खुसीमा सबैले उत्सव मनाउँछ।

जसरी कलेजको आँगनमा घाम ताप्दै बस्दा मन हल्का हुन्थ्यो, आज पनि एक–अर्कासँगको कुरा सुन्दा मन शान्त हुन्छ। दूरीले केवल शरीर टाढा पारेको हो, मन भने अझै पनि त्यही पुरानै टेबलमा बसेर चिया पिइरहेको छ।

हाम्रो मित्रता न सकिएको हो, न त कमजोर भएको—तर परिस्थिति र जीवनको यात्राले हामीलाई सधैं सँगै रहन दिँदैन। समय र अवसरले सबैलाई फरक बाटोमा लग्यो, र धेरै साथीहरू उच्च अध्ययनका लागि विदेशिन बाध्य भए। तर त्यो दूरीलाई हाम्रो मनले कहिल्यै स्वीकार गरेको छैन। अझै पनि दिनहुँजसो फोन वा भिडियो कलमा हामी भेटिन्छौं, हाँसो र सम्झनाहरू बाँड्छौं, र पुराना दिनको स्वाद फेरि अनुभव गर्छौं।
"दूरीले शरीर टाढा पार्न सक्छ, तर हाम्रो मनको मित्रता कहिल्यै टाढा हुन्न।"


Hemant Nath August 19, 2025
Share this post
Tags
ScreenFlicks Nepal