तर त्यसमाथि अंकित अक्षरहरूले मुटु चिरिदिन्छ।
कहिलेकाहीँ त लाग्छ,
शब्दहरू न त बोल्छन्, न कराउँछन्,
तर उनीहरू चुपचाप सिङ्गो संसार भत्काइदिन्छन्।
हिजोसम्म मायाको पत्र पढेर
नयन रसाउँथे, ओठ मुस्काउँथे,
"म तिमीलाई माया गर्छु"
भन्ने एउटा वाक्यले
सिङ्गो रात सपनाको आगोमा जल्थ्यो।
रिजल्टको दिन आँखा थर्थराउँथे,
पास भए आँसु खुसीको बग्थे,
फेल भए लाजको ओढारमा लुकेको मनले रुँथ्यो।
तर अब समय फेरिएको छ,
अब प्रेमपत्रले होइन,
डाक्टरको रिपोर्टले मनलाई बिझाउँछ।
एक टुक्रा कागज,
जहाँ लेखिएको हुन्छ:
"शरीरमा गम्भीर संक्रमण देखिएको छ।"
त्यही वाक्यले मनको धडकन बन्द गरिदिन्छ।
'नराम्रो शंका छ',
'केमोथेरापी आवश्यक छ',
'अत्यावश्यक उपचार सुरु गर्नुहोस्',
यी शब्दहरू अब जीवनका नशा भएर बग्न थाल्छन्।
मायाले लेखिएका पत्रहरू जति मिठा लाग्थे,
आज ती कागजहरू जति कठोर लाग्छन्।
कसले थाहा थियो र?
एकदिन त्यही कागज जसले कविता बोथ्थ्यो,
सन्देश दिन्थ्यो, उत्साह जगाउँथ्यो,
उही अब मृत्युको संकेत बोक्ने माध्यम बन्ला भनेर।
कहिल्यै यति गहिरो चोट दिएको थिएन शब्दले,
कहिल्यै यति तिखो चिच्याएको थिएन मौनताले।
तर आज एक रिपोर्टले,
सबै सपनाहरू ढाकिदिएको छ।
शरीरमा होइन, आत्मामा चोट लागेको छ।
अब प्रेम पत्र लुकाएर राख्ने मन छैन,
रिजल्ट हेरेर मन बुझाउने समय छैन।
अब त मन सास फेर्ने कागज हेरेर डराउँछ,
कागजमा छरिएका शब्दहरू पढ्नुअघि नै रुँन थाल्छ।